पुस २१ काठमाडौं ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेड बाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्ने छन्।
गार्डियन माइक्रो लाइफ कम्पनीले जारी गरेको पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर म्युचुअल फण्डहरूलाई छुट्याएको छ।
त्यस्तै १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।
उक्त आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओमा पुस २४ गतेसम्म आवेदन दिन सकिने छ।