पुस ५ काठमाडौं ।
रसुवागढी नाकामा केरूङबाट मालसामान बोक्न कन्टेनरको चाप बढ्न थालेको छ।
चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी मालवाहक कन्टेनर केरुङ जाने गरेको सीमा सुरक्षाकर्मीले जनाएका छन्।
चालु आर्थिक वर्षको गत साउनदेखि मङ्सिर मसान्तसम्म सानाठूला गरी तीन हजार सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईले जनाएका छन्।
चिनबाट आयात हुने सामग्रीहरुमा स्याउ, अदुवा, लसुन, ओखर, स्याउपाति तथा चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, खेलौना जस्ता विविध प्रकारका मालसामानहरु आयात हुने गरेको र आएका दुई सयभन्दा बढी कन्टेनर भन्सार प्रकृयामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ।
चालु आ.व २०८१, ८२ को प्रथम चौमासिक अन्तर्गत करिब एक सय २४ अर्बको सामग्री आयात भई १२ अर्बभन्दा बढी राजस्व आर्जन भएको भन्सार कार्यालयले जनाएको छ।
वर्तमान अवस्थामा राजस्व आर्जनको प्रमुख स्रोत सवारी साधनकै बढी हिस्सा भएको प्रमुख भट्टराईले जानकारी दिएका छन्।