पुस ३ काठमाडौँ ।
आज विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै छ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनलाई सम्झना गर्दै आज विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाईने भएको हो।
दिवसको सन्दर्भ पारेर नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका साथ सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएका छन्।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओइम)द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेको जनाएको छ। जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६ दशमलव नौ करोड छ।
वर्तमान समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको छ। यसका विभिन्न कारणमध्ये युद्ध, आन्तरिक द्वन्द्व, गरिबी, तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवं सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलाई लिने गरिएको छ।